सामाजिक सद्भाव र शान्ति कायम राख्न राष्ट्रपति पौडेलको अपील
काठमाडौं : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनालाई लिएर तनाव उत्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले देशमा सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न अपिल गरेका छन्।
बिहीबार एक अपिल जारी गरेर पौडेलले सुनसरीको घटना र त्यसपछि उत्पन्न परिस्थितिले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।
उनले घटनापछि उत्पन्न असहज परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन र नागरिकको शान्तिपूर्ण जीवनयापनको वातावरण सुनिश्चित गर्न सरकारले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे।
"यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु," राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।
सदियौंदेखि कायम रहेको सामाजिक, धार्मिक, जातीय सद्भाव र भ्रातृत्व नै नेपालको पहिचान भएको उल्लेख गर्दै उनले राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई आग्रह गरे।
यस्तै, पौडेलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनतर्फ सचेत रहन सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
उक्त घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
साउन १४, २०८३ बिहीबार १७:२२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।