धनुषा र सिरहाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

धनुषा र सिरहाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाबाट उत्पन्न तनावको स्थिति अझै शान्त बन्न सकेको छैन। सोही घटनाको विरोधमा तराइका अन्य जिल्लामा समेत प्रदर्शन हुन थालेका छन्। 

स्थिति सामान्य बनाउन नेपाली सेनासहितको सुरक्षा संयन्त्र परिचालन गरिएको छ। त्यस क्रममा दर्जनौं व्यक्ति घाइतेसमेत भएका छन्। जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरेर स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्ने गरेको छ।

बिहीबार मात्र प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कप्तानगञ्ज घटना विरोधमा बिहीबार सिरहाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा प्रदर्शन गरिएको थियो।

सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरियो। पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कहरहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौर्हवा चोकसम्म, उत्तरतर्फ गोलबजार वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यु लगाइएको छ। 

बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने जनाएको छ। प्रशासनले जारी आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति र सुरक्षा कायम गर्न सहयोगको लागि अपिल गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ। स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। 

यस्तै कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले दोस्रो कर्फ्यु आदेश जारी गरेको छ। जसअनुसार सिरहाको लहान बजारमा पनि कर्फ्यु लगाइएको छ। बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको कर्फ्यु आदेशमा कुनै पनि व्यक्तिले आवतजावत गर्न नपाउने जनाइएको छ।

लहान नगरपालिकाको पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको छ। यसअघि बिहीबार नै जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको थियो।

दिउँसो साढे ३ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी उत्तरतर्फ लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमयु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन-जनकपुर-ढल्केबर पुल-बेला-कादरी मस्जिदसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले संवेदनशील अवस्था र शान्ति-सुरक्षालाई ध्यानमा राखेर कर्फ्यु आदेश जारी गरिएकोले उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना नगर्न आग्रह गरेको थियो।

साउन १४, २०८३ बिहीबार १६:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।