सुनसरी घटनाको प्रभाव : धनुषा जिल्ला प्रशासनले पनि जारी गर्‍यो कर्फ्यु आदेश

सुनसरी घटनाको प्रभाव : धनुषा जिल्ला प्रशासनले पनि जारी गर्‍यो कर्फ्यु आदेश

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्किएपछि धनुषाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जारी कर्फ्यु आदेशअनुसार कर्फ्यु लगाइएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा वा घेराउ जस्ता कुनै पनि क्रियाकलाप गर्न पूर्ण रूपमा रोक लगाइएको छ। 

शान्ति सुरक्षा कायम राख्नका लागि यो कदम चालिएको र अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी रहने प्रशासनले जनाएको छ। उत्तरतर्फ लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ को लक्ष्मीनिया हटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकदेखि पूर्वमा लक्ष्मीपुर बगेवासम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ। 

त्यसैगरी पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म र दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म कर्फ्यु लागू रहनेछ। 

यस्तै, पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिदसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। कर्फ्यु आदेशको उल्लंघन गर्नेमाथि कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलले जनाएका छन्। 

साउन १४, २०८३ बिहीबार १५:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।