संसदमा प्रचण्ड- सुनसरीमा गोली चलाउनैपर्ने अवस्था थियो त? प्रधानमन्त्री र गृहमन्त्री कहाँ छन्?

संसदमा प्रचण्ड- सुनसरीमा गोली चलाउनैपर्ने अवस्था थियो त? प्रधानमन्त्री र गृहमन्त्री कहाँ छन्?

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देशको समग्र राजनीतिक परिस्थिति सहज नरहेको र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा नागरिकमा निराशा बढेको बताए।

सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद चर्किएर दुःखद मोड लिएको भन्दै उनले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाए।

‘यो घटनाले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ प्रचण्डले भने, ‘यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन? यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म माग गर्दछु।’

प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमाथि प्रश्न
सङ्कटको घडीमा सरकारले संवाद अघि नबढाएको भन्दै उनले शीर्ष नेतृत्वको गैरजिम्मेवारीपनको आलोचना गरे।

देशमा विषम परिस्थिति सिर्जना हुँदासमेत प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ मौन बसेको र संवेदनशील बैठकहरूमा अनुपस्थित रहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

‘असहज परिस्थितिमा नेतृत्वदायी भूमिका संविधानतः, कानुनतः र व्यवहारतः पनि प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो,’ प्रचण्डले भने, ‘तर संवेदनशील बैठकहरूमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति हामी सबैका निम्ति चिन्ताको विषय हो।’

ढिलै भए पनि रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर सकारात्मक प्रयास थालेको भन्दै उनले त्यसको प्रशंसा गरे।

‘सरकारका कामबाट जनता झस्किएका छन्’
गत निर्वाचनमा प्राप्त जनअभिमत र वर्तमान सरकारको क्रियाकलापबीच ठूलो खाडल देखिएको दाबी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा व्याप्त बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताए।

‘हामीले आ-आफ्नो मत राखेका छौँ, यो राम्रो कुरा हो। तर निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले थपे, ‘सरकारका कामबाट जनता झस्किएजस्तो देखिन्छ। दिनप्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ।’

आफ्नो नेतृत्वमा भएको ‘जनयुद्ध’लाई शान्ति प्रक्रियामा ल्याउँदा संवादकै माध्यमबाट ठूला द्वन्द्व समाधान गरिएको ऐतिहासिक प्रसङ्ग स्मरण गराउँदै उनले अहिले पनि संवाद र सहकार्यको विकल्प नरहेको स्पष्ट पारे।

‘अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्यमार्फत जस्तोसुकै ठूलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ’, उनले भने।

आम जनताको एकताको माध्यमबाट सामाजिक सद्भाव खलबल्याउन खोज्ने, घुसपैठ गर्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने अराजक तत्वहरूलाई परास्त गर्न सम्पूर्ण राजनीतिक दल र नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए।

साउन १४, २०८३ बिहीबार १३:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।