बालश्रम गराएको अभियोगमा बुटवलका दुई रेस्टुरेन्टलाई ५०/५० हजार जरिवाना
बुटवल : बालश्रम प्रयोग गरेको अभियोगमा बुटवलका दुई रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम गराइरहेको भेटिएको थियो।
संयुक्त अनुगमनका क्रममा तीन जना बाल श्रमिकको उद्धार भएपछि सम्बन्धित व्यवसायीमाथि कानुनी कारबाहीसँगै क्षतिपूर्ति रकमसमेत उपलब्ध गराइएको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका तथा सिविन नेपाल बाल हेल्पलाइनको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा राजु रेस्टुरेन्टबाट एक जना र सुशान्त रेस्टुरेन्टबाट दुई जना गरी तीन जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेका थिए।
उद्धार गरिएका बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालीन बासगृहमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको विभागले जनाएको छ।
बालश्रम प्रयोग गरेको कसुरमा दुवै रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरिएको छ। साथै, श्रम ऐनअनुसार बालकहरूले काम गरेको अवधिको बाँकी पारिश्रमिक तथा क्षतिपूर्ति रकमसमेत भुक्तानी गराइएको छ।
राजु रेस्टुरेन्टमा कार्यरत बालकलाई ३ लाख ८४ हजार ३ सय ४९ रुपैयाँ उपलब्ध गराइएको छ भने सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकले क्रमशः १ लाख ८७ हजार ४ सय ८६ रुपैयाँ र ४१ हजार ५ सय ३६ रुपैयाँ क्षतिपूर्ति तथा पारिश्रमिक प्राप्त गरेका छन्।
अनुगमन टोलीले सम्बन्धित रेस्टुरेन्ट सञ्चालकलाई आगामी दिनमा बालश्रम प्रयोग नगर्न कडा निर्देशन दिँदै श्रमसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न सचेतसमेत गराएको जनाएको छ।
साउन १४, २०८३ बिहीबार १३:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।