सुनसरी घटनामा ‘देश बनाउने टोली’का दुई स्सवकीयले पनि अपनाए वालेन्द्रकै शैली

सुनसरी घटनामा ‘देश बनाउने टोली’का दुई स्सवकीयले पनि अपनाए वालेन्द्रकै शैली

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप र तनाव मोरङ तथा झापासम्म फैलिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरियो। घटनामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो भने दर्जनौं घाइते भए।

आइतबार साँझको घटनापछि उत्पन्न विषम परिस्थितिलाई साम्य पार्न चार दिनपछि बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा सर्वपक्षीय बैठक बस्यो। बैठकले ५ बुँदे निर्णय गर्दै जिल्लामा अमनचयन कायम गर्न र संयमता अपनाउन आम जनसमुदायमा अपिल गर्यो।

तर गम्भीर साम्प्रदायिक तनावका कारण सिङ्गो मधेस अशान्त बनिरहेका बेला राजनीतिक नेतृत्वको उपस्थिति भने फिक्का देखिएको छ।

साउन १३ गते बसेको उक्त सर्वपक्षीय बैठकमा स्थानीय सांसदहरू लाल विक्रम थापा, दीपक कुमार साह, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, सेना, प्रहरी र सशस्त्रका प्रमुखहरूको उपस्थिति थियो।

तर, यति ठूलो सङ्कटमा मन्त्रिपरिषद्का मुख्य जिम्मेवार मन्त्रीहरू भने स्थलगत अनुगमनमा जानुको साटो आफ्ना स्वकीय सचिव पठाएर पन्छिए। स्थानीयले गृहमन्त्री सुधन गुरुङको खोजी गरेर प्रश्न सोध्न चाहेका थिए तर पाएनन्।

सर्वपक्षीय भेलाको निर्णय अनि दुई मन्त्रीका स्वकीयको हस्ताक्षर (रातो घेरामा)।

गृहमन्त्री सुधन गुरुङका प्रमुख स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस क्षेत्रीले बैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन्।

घटना घटेपछि चार दिनसम्म प्रधानमन्त्री वालेन्द्र शाहको शब्दमा ‘देश बनाउने टोली’ले उनकै शैली पछ्यायो।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीमार्फत मंगलबार साँझमा विज्ञप्ति निकाल्न लगाएका थिए भने गृहमन्त्री र पूर्वाधार मन्त्रीले आफैँ पुग्नुपर्ने ठाउँमा स्वकीय सचिव खटाएर ‘देश बनाउने टोली’ एउटै लाइनमा रहेको पुष्टि गरे।

यद्यपि मंगलबार साँझ नै उनको चर्को आलोचना भएपछि राति साढे ११ बजे भावुक स्टाटसबाटै दोषीलाई कारबाही, घाइतेलाई उपचार गर्ने आश्वासन दिँदै सामाजिक सद्भाव कायम गर्न आह्वान गरे।

मधेसका गल्ली-गल्लीमा त्रास व्याप्त रहेको र सर्वसाधारणले ज्यान गुमाउँदासमेत देशको माथिल्लो राजनीतिक नेतृत्वमा हुनुपर्ने तदारुकता र संवेदनशीलता पूर्णतः अनुपस्थित रहेको भन्दै स्थानीय स्तरमा आक्रोश बढेको छ।

साउन १४, २०८३ बिहीबार १२:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।