देश चलाउन नसके हात उठाउनुस्, मार्ग प्रशस्त गर्नुस् : आरेन राई
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशमा गोली चल्ने र हिंसाका घटना बढ्दासमेत सरकार बेखबर र मौन बसेको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारले शान्ति–सुरक्षा र राष्ट्रियताको विषयमा गम्भीर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।
"देशमा आज जताततै हिंसा हुने अवस्था छ। तर सरकार बेखबर छ। सरकार कहाँ छ भनेर सोध्न चाहन्छु। सरकार अब तपाई बाहिर निस्कनुपर्छ," उनले भने, "किनकी दिनदहाडै देशमा गोली चलेको छ। हत्या हिंसा भएको छ। देशमा संकट हुने अवस्था छ। तर सरकार बेखबर छ।"
देश संकटतर्फ धकेलिँदा पनि सरकार बेखबर बनेको भन्दै सांसद राईले जनतालाई ‘टुहुरो’ नबनाउन र बाहिर निस्किएर वास्तविक स्थिति बुझ्न आग्रह गरे।
उनले भने, "यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ। त्यो पाइन्छ, गर्न सकिन्छ। रास्वपा आज दुई तिहाइको नजिक छ। २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला।"
सांसद राईले सरकारले देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न समेत आग्रह गरे।
"यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न। देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न", सांसद राईले भने, "यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो।"
राष्ट्रियतासम्बन्धी विषयमा अनावश्यक जिद्दी गर्नु उपयुक्त नहुने बताउँदै उनले यसको मूल्यांकन नागरिकले भविष्यमा गर्ने बताए।
त्यस्तै, प्रधानमन्त्रीले रोस्ट्रमबाट दिएको भिव्यक्तिप्रति असहमति जनाउँदै उनले उक्त भनाइ तत्काल सच्याउन र संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरे।
सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सर्वदलीय बैठक आह्वान गरेकोमा सांसद राईले रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्दै सद्भाव कायम राख्ने नेतृत्व सरकारले लिनुपर्ने बताए।
साउन १४, २०८३ बिहीबार १२:५२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।