बिर्तामोडमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन घर पूर्ण रूपमा नष्ट, तीनमा आंशिक क्षति

बिर्तामोडमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन घर पूर्ण रूपमा  नष्ट, तीनमा आंशिक क्षति

झापा : बिर्तामोड नगरपालिका–५ स्थित भद्रपुर रोडमा आज बिहान विद्युत् ‘सर्ट’ भई आगलागी भएको छ। आगलागीबाट तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएका छन्।  

त्यसैगरी, भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ। दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा क्षति भएको छ। 

स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकलहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको कुल क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

साउन १४, २०८३ बिहीबार १०:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।