रोपाइँकै बेला ट्रान्सफर्मर चोरी : महोत्तरीमा सिंचाइ ठप्प, मधेश प्रदेशमा ५ वर्षमा १०५ वटा गायव

रोपाइँकै बेला ट्रान्सफर्मर चोरी : महोत्तरीमा सिंचाइ ठप्प, मधेश प्रदेशमा ५ वर्षमा १०५ वटा गायव

जनकपुरधाम : मानो रोपेर मुरी उब्जाउने मुख्य सिजनमै सिंचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएपछि महोत्तरीको गौशालाका किसान गम्भीर समस्यामा परेका छन्।​​​​​​​ ट्रान्सफर्मर नै गायब भएपछि स्थानीय किसानहरू सिंचाइ सुविधाबाट वञ्चित भएका हुन्।

गौशाला नगरपालिका-१ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, नकटाझिज धनुषाले २०७९ सालमा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरिदिएको थियो। उक्त बोरिङबाट करिब १५ देखि १६ बिघा जमिनमा सिंचाइ हुँदै आएको थियो।

गत चैत ३० गते नै ट्रान्सफर्मर चोरी भएको विषयमा प्रहरी र नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराइए पनि अहिलेसम्म नयाँ ट्रान्सफर्मर जडान हुन सकेको छैन। रोपाइँको मुखमा सिँचाइ नहुँदा किसानहरू वैकल्पिक उपाय खोज्न बाध्य बनेका छन्।

यो समस्या गौशालाको मात्र होइन, सिङ्गो मधेश प्रदेशमै ट्रान्सफर्मर चोरी एउटा ठूलो गिरोहको चुनौतीका रूपमा देखा परेको छ।

नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैतका अनुसार पछिल्ला पाँच वर्षमा मधेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन्।

जसमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लाबाट मात्रै २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क छ।

ट्रान्सफर्मरभित्र रहने तामाको क्वाइल तार बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले गिरोह नै सक्रिय भएर चोरी गरिरहेको प्रमुख कुसियैतको भनाइ छ।

चोरी भएका ट्रान्सफर्मरहरूको विवरण सङ्कलन गरी अनुसन्धान र खोजतलासका लागि मधेश प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिसकिएको उनले जानकारी दिए।

ट्रान्सफर्मर चोरीका कारण कृषि क्षेत्र प्रत्यक्ष प्रभावित बनेको भन्दै स्थानीय किसानहरूले दोषीलाई तत्काल पक्राउ गरी सिँचाइका लागि नयाँ ट्रान्सफर्मरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

साउन १४, २०८३ बिहीबार १०:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।