दुई सातापछि प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ दिनको स्थगनपछि आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। उक्त बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम तय गरिएको छ।
पर्याप्त बिजनेस नभएपछि गत असार ३१ गते प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित गरिएको थियो। सो अवधिमा सांसदहरू आ-आफ्नो निर्वाचन क्षेत्रको भ्रमण र स्थानीय कार्यक्रममा व्यस्त रहेका थिए।
साउन १४, २०८३ बिहीबार ०७:२१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।