मन्त्रीस्तरीय निर्णय विपरीत निजी अस्पतालमा काम गर्ने कान्तिका निर्देशक डा. पंकजलाइ स्वास्थ्यमन्त्रीले सोधिन् स्पष्टीकरण
काठमाडौं : सरकारी अस्पतालको नेतृत्वमा रहेकाहरूले निजी अभ्यास गर्न नपाउने मन्त्रीस्तरिय निर्णय उलंघन गर्दै निजी अस्पतालमा नियमित काम गरिरहेका कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले लिखित स्पष्टीकरण मागेकी छिन्।
उकेराले प्रमाणसहित डा. राय निर्णय विपरीत सरकारी कार्यालय समयमा समेत निजी (ह्याम्स) अस्पतालमा काम गरिरहेको समाचार प्रकाशित गरेको थियो। मन्त्रीस्तरीय निर्णय उलंघन गर्दै निजीमा काम गरेको सार्वजनिक भएपछि मन्त्री मेहताले बुधवार डा. रायलाई स्पष्टीकरण सोधेकी हुन्।
मन्त्री मेहताले उनलाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पुष्टि गरे।
“स्वास्थ्य सेवा ऐन र नियमावलीको व्यवस्था अनुसार सञ्चार माध्यममा आएका विषयहरू के कसो भएको हो भनी खुलाई पेस गर्न पत्राचार भएको छ,” सह प्रवक्ता डा. अधिकारीले उकेरासँग भने।
उकेराले असार ३० मा डा.रायको गतिविधिबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उकेराले स्थलगत रिपोर्टिङमा कान्तिका निर्देशक राय सरकारी कार्यालय समयमै ह्याम्समा भेटिएका थिए।
स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार सरकारी अस्पतालको नेतृत्वमा रहेका चिकित्सक निजी अस्पतालमा काम गर्न पाउँदैनन्। २०७७ साउन ९ मा मन्त्रीस्तरीय निर्णयअनुसार अस्पताल तथा स्वास्थ्य संस्था प्रमुख निजी अस्पतालमा काम गर्न जान नपाइने गरी दुई बुँदे निर्णय भएको थियो।
स्वास्थ्य मन्त्रालयले गरेको ती दुई बुँदे निर्णयमध्ये पहिलो बुँदामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरू,
विभाग, केन्द्र, महाशाखा, परिषद्, प्रतिष्ठान० तथा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने, यसभन्दा अगाडि निजी प्राक्टिस गर्न पूर्वस्वीकृति लिएको भए सो स्वीकृति स्वतः खारेज हुने उल्लेख छ।
दोस्रो बुँदामा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालहरूमा लेख्न नपाइने उल्लेख छ।
सम्बन्धित समाचार
साउन १३, २०८३ बुधबार २१:३०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।