सुनसरीमा घुसपैठ रोक्न सीमा आरपारमा परिचय पत्र अनिवार्य, पहाडी क्षेत्रका प्रहरी मधेस झारिए
सुनसरी : सुनसरीको कप्तानगन्जमा दुई पक्षको झडपपछि बढेको सुरक्षा चुनौती कम गर्न सुरक्षा संगठनले नेपाल-भारत सीमामा कडाइ गरेको छ। घटनास्थल नेपाल-भारतको सीमा क्षेत्र रहेको र घुसपैठको जोखिम रहेको भन्दै सुरक्षा संगठनले सीमा वारपारमा कडाइ गर्दै परिचय पत्र अनिवार्य गरेको हो।
कप्तानगंजमा भएको घटनाबारे कोशीका मुख्यमन्त्री कार्यालयले सर्वदलीयसँगै सुरक्षा बैठक समेत राखेको थियो। सो बैठकमा सुरक्षा संगठनका अधिकारीले कप्तानगंजसहितका क्षेत्रमा सीमापारिबाट हुनसक्ने सम्भावित घुसपैठ, धार्मिक अतिवादी गतिविधिसँगै सुरक्षा चुनौती बढेको मौका हुनसक्ने अवैध हतियार र लागुऔषधको कारोबार नियन्त्रण गर्न परिचय पत्र अनिवार्य गरिएको जानकारी दिएको हो।
प्रदेश सरकारले घटनाबारे समीक्षा गर्न बुधवार विराटनगरमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वपक्षीय बैठक राखेको थियो बैठकमा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले यस्तो अवस्थामा हुनसक्ने बाह्य तत्त्वको घुसपैठ, हतियार र लागुऔषध कारोबारमा निगरानी बढाउन भारतसँग जोडिएका सीमा नाकामा अतिरिक्त सुरक्षा सतर्कता अपनाइए र आवतजावत गर्न परिचय पत्र अनिवार्य गरेको जानकारी दिएका थिए।
बैठक स्रोतका अनुसार सुनसरीको जोखिमपूर्ण क्षेत्रमा सुरक्षा जनशक्ति बढाइएको र त्यसका लागि कोशीका पहाडी क्षेत्र र जोखिम कम रहेका क्षेत्रमा रहेका सुरक्षाकर्मीहरू झिकाइएको जानकारी दिएका थिए। सोही बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भारतको धार्मिक संघ–संगठनको नाममा अराजक समूह नेपाल प्रवेश गर्न सक्ने सूचना आएको जानकारीदिँदै परिचयपत्र भएकालाई मात्र सीमा वारपार गर्न दिइएको जानकारी दिएका थिए।
आइतबार राति बोलबोमको डिजे बजाएको विषयमा सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा स्थानीय समूहबीचको विवादक्रममा गोली चल्दा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा स्थानीय र प्रहरी गरेर २० जना घाइते भएका थिए। त्यसयता निरन्तर हिंसात्मक घटना बढेपछि सुरक्षाका लागि नेपाली सेनासहित चारै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित छन्।
साउन १३, २०८३ बुधबार १८:५०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।