१ अर्ब ८९ करोडभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ

१ अर्ब ८९ करोडभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एक अर्ब ८९ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकमको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले धादिङ घर भई  काठमाडौँको नागार्जुन नगरपालिका-८, राधाकृष्ण मन्दिर क्षेत्रबाट ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको हो। 

सीआईबीका अनुसार केही व्यक्तिहरूले अवैध रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ पुर्जी अनुमति प्राप्त भएपछि सीआईबीको टोलीले उनलाई सोही दिन नागार्जुन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। 

घटनाबारे थप अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन्।

साउन १३, २०८३ बुधबार १३:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।