नेपालमै पहिलो पटक गाँजा मिसिएको ‘भेप’ बरामद, अष्ट्रेलियन पासपोर्टसहित एनआरएन पक्राउ
काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले नेपालमै पहिलो पटक गाँजाको तत्त्व (टीएचसी) मिसिएको विद्युतीय चुरोट ‘भेप’ बरामद गरेको छ। यस प्रकरणमा अष्ट्रेलियन पासपोर्ट बोकेका एक गैरआवासीय नेपाली (एनआरएन) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१ स्थायी ठेगाना भएका ३८ वर्षीय कविर मगर रहेका छन्।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार, काठमाडौंका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्लबहरूभित्र लागुऔषध सेवन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
सोही क्रममा गत असार २५ गते ब्यूरोबाट खटिएको टोलीले मगरलाई काठमाडौंको ठमेल (वडा नं. १६) बाट शङ्कास्पद भेपसहित नियन्त्रणमा लिएको थियो।
सुरुवातमा ती भेप सामान्य हुन् वा लागुऔषध हुन् भन्ने नखुलेपछि अनुसन्धानका सिलसिलामा प्रहरीले परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाको रिपोर्टमा उक्त भेपभित्र गाँजामा पाइने लागुऔषध तत्त्व ‘टीएचसी’ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
ब्यूरोले आफ्नो आधिकारिक विज्ञप्तिमा ‘टीएचसी’ मिसिएको भेप नेपालमा फेला परेको यो नै पहिलो घटना भएको दाबी गरिएको छ।
पक्राउ परेका मगरको साथबाट प्रहरीले ५ थान टीएचसी भेप, १ थान मोबाइल र १ थान अष्ट्रेलियन पासपोर्ट बरामद गरेको छ। उनीमाथि लागुऔषध ओसारपसार तथा प्रयोगको कसुरमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बन्दै गएको ‘भेप’ भित्रै लागुऔषध राखेर सेवन तथा बेचबिखन हुन थालेको तथ्य बाहिरिएपछि प्रहरीले रात्रीकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी थप कडा बनाएको छ।
साउन १३, २०८३ बुधबार १३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।