सुनसरीको १० पालिकामा लगाइएको कर्फ्यूमा सेनाको कडाइ : बजार क्षेत्र सुनसान, घरबाहिर निस्कन कडाइ
सुनसरी : दुई पक्षबीचको झडप, आगजनी र तोडफोडपछि मंगलबार बेलुकी तनावग्रस्त भएको सुनसरी जिल्ला विहानैदेखि सुनसान छ।
स्थिति थप बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाका ८ वटा पालिकाको सम्पूर्ण क्षेत्र र २ वटा पालिकाको आंशिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि स्थिति नियन्त्रणमा आएको हो।
बुधबार बिहानैदेखि कर्फ्यू कार्यान्वयनमा कडाइ गर्दै नेपाली सेनाले सुरक्षा निगरानी बढाएको छ।
मंगलबार राति झडपपछि उग्र बनेको भिडले व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यूको दायरा बढाएको थियो। बुधबार बिहानैदेखि सेना र अन्य सुरक्षा निकायले सडकमा गस्ती बढाएका छन्।
कडा कर्फ्यूका कारण सुनसरीका मुख्य बजार क्षेत्रहरू पूर्ण रूपमा सुनसान छन्। सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार मंगलबार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको छ। यसअघि सीमित क्षेत्रमा मात्र लगाइएको कर्फ्यूलाई विस्तार गर्दै प्रशासनले जिल्लाका अधिकांश भूभागलाई समेटेको छ।

कर्फ्यू लगाइएको क्षेत्रमा प्रशासनले कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने स्पष्ट पारेको छ। आदेशको उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित देवानगञ्जमा आइतबार राति बोलबममा डिजे बजाउने विषयमा भएको विवादले उग्र रूप लिँदा दुई सम्प्रदायबीच झडप भएको थियो। जसलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भए।
त्यसपछि झन् उग्र बनेको प्रदर्शनलपछि सोमबार र मंगलबार स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्दै स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर मंगलबार साँझ स्थिति झन् बिग्रियो।दुवै पक्षले व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गर्न थाले।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ठूलो सङ्ख्यामा खटिएको सुरक्षाकर्मीको टोलीले करिब दुई घण्टापछि मात्रै राति स्थिति नियन्त्रणमा लिएको थियो।
साउन १३, २०८३ बुधबार ०९:३६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।