लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस

बुटवल : लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ। यससँगै कांग्रेसका तर्फबाट सरकारमा रहेका पाँचै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सरकारप्रतिको समर्थन फिर्ता लिएको औपचारिक पत्र बुझाउँदै मन्त्रीहरूको सामूहिक राजीनामासमेत पेश गरेकी हुन्।

राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

संघीय तहमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव प्रदेश सरकारमा पनि परेको छ। त्यसकै परिणामस्वरूप कांग्रेसले लुम्बिनी सरकारसँगको सहकार्य अन्त्य गर्दै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको हो।

कांग्रेस सरकारबाट अलगिएपछि अब लुम्बिनी प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भएको छ। सरकार गठन, मन्त्रालयको भागबन्डा तथा नयाँ मन्त्रीहरूको जिम्मेवारीबारे दुवै दलबीच छलफल जारी रहने बताइएको छ।

साउन १२, २०८३ मंगलबार २०:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।