कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

शाहीले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ गरी कुल २३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल नेपाली काङ्ग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपाका १ र अन्य १ जना सदस्य रहेका छन्।

मुगु प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित नवनियुक्त मुख्यमन्त्री शाही यसअघि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री भइसकेका छन्।

साउन १२, २०८३ मंगलबार १९:०२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।