सुनसरी घटनामा निष्पक्ष छानबिन गर्न रास्वपा सभापति लामिछानेको ध्यानाकर्षण
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘डिजे’ बजाउने विषयमा दुई सम्प्रदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्युको घटनाको निश्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनसरी लगायत पूर्वी जिल्लाहरूमा हालै घटेको घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
रास्वपाले घटनाको जरोसम्म पुगेर स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचार उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पारिएको छ।
नेपाली समाजको मुख्य शक्ति भनेकै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सद्भाव भएको उल्लेख गर्दै रास्वपाले साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र धार्मिक तथा सामाजिक व्यक्तित्वहरूसँग अपिल गरेको छ।
अहिलेको परिस्थितिमा उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै प्रमुख आवश्यकता भएको भन्दै रास्वपाले सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको जनाएको छ।
साथै, यो अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरिएको छ।
रास्वपा सभापति लामिछानेले स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायतलाई शान्ति र सद्भाव कायम राख्न सक्रिय र सहयोगी भूमिका खेल्न विशेष निर्देशनसमेत दिएका छन्।
साउन १२, २०८३ मंगलबार १८:०७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।