एकैदिन ४२ विपद्का घटना : ३ जनाको मृत्यु, २१ घाइते

एकैदिन ४२ विपद्का घटना : ३ जनाको मृत्यु, २१ घाइते

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा भएका ४२ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो।

प्राधिकरणका अनुसार यो अवधिमा देशका ३४ जिल्ला विपद्का घटनाबाट प्रभावित भएका छन्। २४ घण्टाभित्र सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावरको आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक गरी कुल ४२ घटना दर्ता भएका हुन्। 

यस्तै, सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका प्राधिकरण जनाएको छ। विपद्का घटनाबाट कुल एक करोड २२ लाख ४५ हजार बराबरको अनुमानित भौतिक क्षति भएको छ भने २२ वटा चौपाया मरेका छन्।

अविरल वर्षा र पहिरोका कारण देशभरका नौवटा मुख्य सडक खण्डहरू अझै अवरुद्ध रहेकाले यातायात सञ्चालनमा समस्या आएको प्राधिकरणले जनाएको छ।

साउन १२, २०८३ मंगलबार १३:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।