माग पूरा गराउन लघुवित्त पीडितको माइतीघरमा सामूहिक आमरण अनसन

माग पूरा गराउन लघुवित्त पीडितको माइतीघरमा सामूहिक आमरण अनसन

काठमाडौं : लघुवित्त तथा वित्तीय संस्थाबाट पीडितहरूको एक समूहले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेको छ।

गत आइतबार ‘राजधानी मार्च’मार्फत काठमाडौं आइपुगेका उनीहरूले मंगलबार बिहानदेखि अनसन सुरु गरेका हुन्। यसअघि सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संघर्ष समितिको भनाइ छ। 

उनीहरूले लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त र बैंकहरूबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य हुनुपर्ने, चर्को तथा चक्र वृद्धि ब्याज र विभिन्न शीर्षकमा असुल गरिने अतिरिक्त शुल्क खारेज हुनुपर्ने माग राखेका छन्। 

त्यस्तै, जग्गा धितो लिलामी र ऋणीलाई कालोसूचीमा राख्ने प्रक्रिया तत्काल रोकी अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरूपण गर्नुपर्ने उनीहरूको माग छ।

ग्रामीण तथा सहरी क्षेत्रका विपन्न किसान र मजदुरहरू ऋणको चपेटामा परेको र लघुवित्तका कर्मचारीहरूबाट मानसिक तनाव खेप्नुपरेको उनीहरूको गुनासो छ। यसअघि पीडितहरूको अर्को समूहसँग सरकारले वार्ता गरे पनि यस समूहले भने आफ्ना आधारभूत मागहरू औपचारिक रूपमा सम्बोधन नभएसम्म अनसन जारी रहने चेतावनी दिएको छ।

साउन १२, २०८३ मंगलबार १२:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।