कप्तानगञ्ज घटनापछि फिर्ता बोलाइए प्रजिअसहित सुरक्षा निकायका प्रमुख
काठमाडौं : गृह मन्त्रालयले गए राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा सङ्खुवासभाका प्रजिअ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।
त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायव उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक मदन नाथलाई पठाइएको छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा परेर नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई एक साताभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ।
साउन ११, २०८३ सोमबार १९:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।