बागमती प्रदेशमा कसको बन्ला नयाँ सरकार?
बागमती : प्रदेशहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग मिलेर सरकार गठन गर्ने केन्द्रमा सहमति भएपछि एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन्।
एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपासँगको सहमतिअनुसार बागमती प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठनको प्रयास हुने छ।
बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ। कुल १०४ सदस्य रहेको बागमती प्रदेशसभामामा कांग्रेस ३६, नेकपा २६, एमाले २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ।
यहाँ एमाले र नेकपासँग सरकार गठनको लागि आवश्यक संख्या छैन। थप एक दलको समर्थन बिना यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन।
सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि एमालेभित्र दुई आकांक्षी देखिएका छन्। संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापा मुख्यमन्त्रीका लागि आफ्नो पक्षमा समर्थन आन्तरिक लबिङमा जुटेका छन्। तर, पार्टीले हालसम्म औपचारिक निर्णय भने गरेको छैन।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले पनि प्रदेशसभामा आवश्यक संख्या जुटाउन लागि परेका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताए।
कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उनले बताए।
साउन ११, २०८३ सोमबार १४:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।