स्थानीयको विरोधका बावजुद ‘नागढुङ्गा सुरुङमार्ग’को उद्घाटन, कति तोकिएको छ शुल्क?
काठमाडौं : देशकै पहिलो अत्याधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
उद्घाटनसँगै राजधानी भित्रिने र बाहिरिने यो सुरुङमार्ग आजैदेखि सञ्चालनमा आएको छ। तर, तत्कालका लागि सबै प्रकारका सवारीसाधन भने चलाउन पाइने छैन।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।
आयोजनाका अनुसार करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) का रूपमा यसलाई सञ्चालन गरिनेछ।
टोल प्लाजाका कामहरू पूर्ण रूपमा नसकिएको र कर्मचारीहरू पनि अभ्यस्त हुन समय लाग्ने भएकाले यस अवधिमा सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेपछि मात्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रयोग गरेबापत सवारीसाधनअनुसार फरक-फरक शुल्क निर्धारण गरिएको छ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीः काठमाडौं प्रवेश गर्दा रु. ६५, बाहिरिँदा रु. ६०।
मिनीबस र मिनी टिपर/ट्रकः काठमाडौं प्रवेश गर्दा रु. ११५, बाहिरिँदा रु. ८०।
बस र सिंगल रियर एक्सल भएका ट्रकः काठमाडौं प्रवेश गर्दा रु. २६०, बाहिरिँदा रु. २००।
मल्टी एक्सल ट्रक, अन्य ठूला सवारी र भारी उपकरणः काठमाडौं प्रवेश गर्दा रु. ६००, बाहिरिँदा रु. २५०।
तर, सुरक्षा सतर्कताका कारण सबै प्रकारका सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्।
नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा मर्मत एकाइकी अधिकारी जिज्ञाषा अधिकारीका अनुसार दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल/स्कुटर), तरल र ग्यास इन्धन बोकेका सवारी, पशुपन्छी बोक्ने सवारी तथा विस्फोटक पदार्थ (बम, बारुद) ओसारपसार गर्ने सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
तीन प्रधानमन्त्रीको कार्यकाल जोडिएको आयोजना
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनाको शिलान्यास गरेका थिए।
यसको मुख्य सुरुङ छेड्ने (ब्रेकथ्रु) काम अर्का तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा भएको थियो। लामो समयको निर्माण र तयारीपछि अहिले वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको बेला यसको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटनअघि स्थानीयको प्रदर्शन
सुरुङमार्ग उद्घाटनको केही समयअघि मात्रै प्रभावित क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका थिए।
नागढुङ्गा सुरुङमार्ग पीडित सङ्घर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा स्थानीयले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने, सडकपेटी फराकिलो बनाउनुपर्ने, आयोजना प्रभावितलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने तथा जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

साथै, उनीहरूले त्यहाँ निर्मित फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइओभर’ राख्नुपर्ने मागसमेत गरेका छन्।
प्रदर्शनकारीले मूल सडकमै प्रदर्शन गर्न खोजेपछि बाक्लो सङ्ख्यामा परिचालन भएका सुरक्षाकर्मीले उनीहरूलाई त्यहाँबाट हटाएका थिए। स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
साउन ११, २०८३ सोमबार ११:१२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।