‘बोलबम’को डिजेले सुनसरीमा दुई पक्षबीच झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
झडपमा १६ जना घाइते भएका छन् भने अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले पाँचवटा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
प्रहरीको गोली लागेर देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।
कसरी भयो घटना ?
प्रहरीका अनुसार साउने सोमबारका अवसरमा ‘बोलबम’ यात्राका लागि युवाहरूको एउटा समूह रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै थियो। मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को समूहले अवरोध गरेपछि दुई पक्षबीच भनाभन सुरु भएको थियो।
त्यही विवाद झडपमा परिणत भएपछि कप्तानगञ्ज क्षेत्र करिब ३ घण्टासम्म पूर्ण रूपमा तनावग्रस्त बनेको थियो। झडपका क्रममा स्थानीयका घर, पसलमा तोडफोड हुनुका साथै सवारीसाधनमा आगजनीसमेत गरिएको थियो।
भिडले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसबाट पनि अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
१६ जना घाइते, ८ जनालाई गोली लाग्यो
झडपका क्रममा ८ जना सर्वसाधारण र ८ जना प्रहरी गरी १६ जना घाइते भएका छन्। घाइते ८ जना सर्वसाधारणलाई गोली लागेको छ। उनीहरूको विराटनगरस्थित कोशी अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार कोशी अस्पतालमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको उपचार भइरहेको छ।
त्यस्तै, विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव तथा २५ वर्षका दुई जना सुनिलकुमार मेहताको उपचार भइरहेको छ।
ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईसहित ८ प्रहरी घाइते भएका छन्। इन्स्पेक्टर राईको टाउकोमा पाँच टाँका लगाइएको छ।
अन्य घाइते हुनेहरूमा सई गणेशनारायण श्रेष्ठ, असई नवराज पोखरेल, वरिष्ठ हवल्दार अमरलाल यादव तथा जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव रहेका छन्।
पाँच बजारमा कर्फ्यु, दुई पालिकामा निषेधाज्ञा
झडपपछि आइतबार राति करिब १२ बजे बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्।
सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ। कर्फ्युको समयमा हिँडडुल गर्न, भेला, जुलुस वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
कुन बजारमा कहाँसम्म छ कर्फ्यु ?
हरिनगरा बजार क्षेत्रः पूर्वमा नूनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म।
भुटाहा बजार क्षेत्रः पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा गाउँपालिका कार्यालयसम्म।
कप्तानगञ्ज बजार क्षेत्रः पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्रसम्म।
घुस्की बजार क्षेत्रः पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म।
देवानगञ्ज बजार क्षेत्रः पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्म।
यसैगरी, प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा (५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने) जारी गरेको छ।
सोमबार बिहानदेखि अवस्था सामान्य रहे पनि थप दुर्घटना हुन नदिन घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
जिल्लाभरका सुरक्षाकर्मीलाई कप्तानगञ्जमा केन्द्रित गरिएको र थप मद्दतका लागि अन्य स्थानबाट पनि सुरक्षाकर्मी पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
साउन ११, २०८३ सोमबार ०७:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।