प्रहरीले धर्मशालामा पठाउने भन्दै झुक्क्यायो लघु वित्त पीडितलाई, गौशालाबाट रत्नपार्क फर्कँदै
काठमाडौं : रत्नपार्कको शान्तिवाटिकामा बस्न नपाएपछि प्रहरीले गौशाला धर्मशाला लैजाने भनेर आफै गाडीमा हालेर पशुपति गौशाला पूर्याए पनि झुक्याएको भन्दै लघुवित्त पीडितहरूले शान्तिवाटिकामा फर्किएका छन्।
उनीहरूले आइतबार राजधानी मार्च गर्दै रत्नपार्कको शान्तिवाटिकामा अगाडि पुगेका थिए। तर प्रशासनले उनीहरूलाई शान्तिवाटिकामा प्रवेश गर्न नदिएपछि पानीमा भिजेर बाहिरै बसेका थिए।
अभियानमा संलग्न लक्ष्मी घिमिरेका अनुसार त्यसपछि प्रहरीले उनीहरूलाई पशुपति गौशालामा रहेको धर्मशालामा पुर्याउने भन्दै गाडीमा राखेर धर्मशाला भन्दा केही नजिकै झारेको थियो।
धर्मशालामा सीमित कोठामात्र छ भनेर बस्न नदिएपछि उनीहरू शान्तिवाटिकामा बस्न नाराबाजी गर्दै गौशालाबाट फर्किएका हुन्। उनीहरू सडकमा नाराबाजी गर्दै रत्नपार्क आउने क्रममा सेतोपुलमा प्रहरीले रोकेको छ। घिमिरेले यसबारे गृह प्रशासनसँग समन्वयको प्रयास गर्दा 'जे गर्नुहुन्छ गर्नुस्' भनेको जानकारी दिइन्।
साउन १०, २०८३ आइतबार २०:५१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।