माइतीघर डुबानको मुख्य कारण जलाधार मासेर बनेको प्रहरी र सरकारी वकिलको कार्यालय
काठमाडौँ : माइतीघर मण्डला उत्तरी क्षेत्रमा रहेको खाली क्षेत्रमा जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय निर्माणका बर्खायाममा डुबानको समस्या बढेको अध्ययनले खुलाएको छ। बर्षायाम सुरु भएसँगै सो क्षेत्र डुबेपछि काठमाडौं महानगरपालिकाले यसको कारण पहिल्याउन एक अध्ययन समिति गठन गरेको थियो।
त्यसले आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाशलाई मुख्य कारणको रूपमा औँल्याएको छ। सो क्षेत्र सिमसारको रूपमा रहेकोमा पछि त्यसमा प्रहरी र सरकारी वकिलको कार्यालयको भवन बनाइयो। प्रहरी कार्यालयको पछाडिको केही भागमा भने अहिले पनि खेती हुने गरेको छ। सो क्षेत्रमा चिनिया नागरिकले जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्ने गरेका छन्।
प्रतिवेदनमा विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले प्राकृतिक जलाधारको काम गर्दै वर्षाको पानीलाई जमिनमुनि सोस्ने गरेको तर अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकिएर पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको उल्लेख छ। यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।
माइतीघर मण्डला क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले, सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन दिएकी थिइन्।
कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीको सदस्यहरूमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य थिए।
प्रतिवेदन अनुसार माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ।
ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ। प्रतिवेदनले तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ। टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने नन रिटर्न भल्भ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ।
साउन १०, २०८३ आइतबार १९:०९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।