सामान्य वर्षामै पनि किन जलमग्न हुन्छ माइतीघर?

सामान्य वर्षामै पनि किन जलमग्न हुन्छ माइतीघर?

काठमाडौं : दीर्घकालीन समाधानतर्फ अघि नबढ्दा सामान्य वर्षा हुनेबित्तिकै काठमाडौंको माइतीघर मण्डला क्षेत्र जलमग्न हुने गरेको छ। 

हालै बुझाइएको एक प्राविधिक अध्ययन प्रतिवेदन अनुसार पूर्वाधार निर्माणका क्रममा भएका प्राविधिक त्रुटि, प्राकृतिक जलशोषक क्षेत्रको विनाश र जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण नै यहाँको डुबानका मुख्य कारण हुन्।

लगातारको झरीपछि साउन ५ गते काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सरोकारवाला निकायहरूको संयुक्त टोलीले सो क्षेत्रको अनुगमन गरेको थियो। अनुगमनपछि डंगोलको निर्देशनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार  पारेको हो।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ। 

यसबाहेक, टुकुचा खोलामा पानीको सतह बढ्दा ढलको पानी खोलातिर जानुको साटो उल्टै सडक र बस्तीतिर फर्कने (ब्याक फ्लो हुने) समस्याले गर्दा  पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे। जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गर्थ्यो।

तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो। यसकारण जमिनले पानी सोस्न छाडेपछि सतहमा बग्ने पानीको मात्रा ह्वात्तै बढेर सिधै माइतीघर चोकमा जम्मा हुन पुगेको प्राविधिक टोलीको निष्कर्ष छ।

अनुगमनका कतिपय स्थानमा ढलको माथि नै व्यक्तिगत तथा सरकारी संरचनाहरू बनाइएकाले नियमित सरसफाइ र मर्मतमा ठूलो बाधा पुगेको पाइएको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित उक्त टोलीमा काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य रहेका थिए।

साउन १०, २०८३ आइतबार १८:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।