कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

सुदूरपश्चिम : कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। 

आज दिउँसो करिब १ बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये नदीमा डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। 

सँगै गएका साथीहरूले घटनाबारे खबर गरेपछि टेकेन्द्रकी आमा पुष्पा बोहरासहित र अन्य स्थानीय बासिन्दाहरू मिलेर उनलाई नदीबाट बाहिर निकालेका थिए। उद्धार गरिएका उनलाई तत्काल उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा आज अपराह्न उनको निधन भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

साउन १०, २०८३ आइतबार १७:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।