मोबाइल माग्दा नदिएपछि साथीहरूद्वारा १७ वर्षीय लजिनको हत्या, शव लुकाउने चार जना पक्राउ

मोबाइल माग्दा नदिएपछि साथीहरूद्वारा १७ वर्षीय लजिनको हत्या, शव लुकाउने चार जना पक्राउ

गण्डकी : मोबाइल नदिएको विषयमा विवाद हुँदा बागलुङमा आफ्नै साथीहरूले कुटपिट गरी १७ वर्षीय किशोरको हत्या गरेका छन्।

बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साथीको जन्मदिन मनाउन गएका लजिनको शव घटनाको एक सातापछि स्थानीय मनखोलामा फेला परेको थियो।

घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गत साउन १ गते स्थानीय असिम वनको जन्मदिन मनाउन साथीहरू भेला भएका थिए। जन्मदिन मनाउने क्रममा साउन राति २:३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर उनीहरूले मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि घर फर्कने क्रममा लजिनसँग रहेको आइफोनको विषयमा विवाद सुरु भएको थियो। विवाद बढेपछि थापामाथि कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए। 

“लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ”, उनले भने, “कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ।”

जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए। जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ। 

हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो। नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए। 

साउन १०, २०८३ आइतबार १६:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।