प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ‘नेपालमा लगानी विस्तारका साझेदार बन्नुस्’
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको मान्यतामा विश्वस्त रहँदै नेपालको आर्थिक विकास र लगानी विस्तारमा साझेदार बन्न प्रवासी नेपालीहरूलाई आह्वान गरेका छन्।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उनले सरकार सुशासनको आधार निर्माण र आर्थिक समृद्धिका लागि नयाँ अवसर सिर्जना गर्न लागिपरेकोले त्यसमा डायस्पोराको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
वाग्लेले भने, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो।”
चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन र लगानीको वातावरणमा सुधारका ठोस पहल गरिएको उनको भनाइ थियो। नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सक्ने गरी सरकारले आवश्यक कानुनी एवं प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता समेत उनले जनाए।
सरकारी कोषभन्दा बाहिरका स्रोतहरू परिचालन गरेर अर्थतन्त्रको पुनरुत्थान गर्ने लक्ष्य लिइएको बताउँदै वाग्लेले लगानीका लागि थप सहजीकरण गर्नुपर्ने विषयमा प्रवासी नेपालीहरूबाट सुझावको अपेक्षा गरिएको उल्लेख गरे।
"डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता हुनुहुन्छ," उनले भने।
साउन १०, २०८३ आइतबार १२:०१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।