देशका प्रमुख सडक अस्तव्यस्त : कुन-कुन राजमार्गमा आवागमन प्रभावित ?

देशका प्रमुख सडक अस्तव्यस्त : कुन-कुन राजमार्गमा आवागमन प्रभावित ?
फाइल तस्बिर

काठमाडौं : अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र सडक कटानले देशका आधा दर्जनभन्दा बढी प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण र आंशिक रूपमा अवरुद्ध भएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले केही सडकमा रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ भने कतिपय स्थानमा पहिरोले पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारणको आवागमन र ढुवानी सेवा ठप्प बनेको छ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लामासाँघु-रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।

त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन्।

साउन १०, २०८३ आइतबार ०७:३९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।