प्रदेशहरूमा सरकार गठनका लागि एमाले र नेकपाबीच तीन बुँदे सहमति, कहाँ कसको सरकार ?
काठमाडौं : राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।
मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
साउन ९, २०८३ शनिबार १८:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।