क्यानडामा पञ्जाबी युवतीको घाँटी थिचेर हत्या, प्रेमीविरुद्ध 'सेकेन्ड डिग्री मर्डर'को मुद्दा दायर
एजेन्सी : क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टमा भारतको पञ्जाब राज्यको लुधियाना जिल्लाकी २३ वर्षीया दमनप्रीत कौरको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा उनका प्रेमी २२ वर्षीय भारतीय नागरिक रितेश कुमारलाई प्रहरीले दोस्रो दर्जाको हत्याको आरोपमा पक्राउ गरेको छ।
एडमन्टन प्रहरी सेवाका अनुसार जुलाई ९ साँझ सिल्भरबेरी क्षेत्रमा रहेको एक घरमा अचेत अवस्थामा शंकास्पद चोटपटकसहित एक महिला रहेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। गम्भीर अवस्थामा भेटिएकी दमनप्रीतलाई तत्काल अस्पताल लगिएको भए पनि उपचारकै क्रममा जुलाई १२ मा उनको मृत्यु भएको थियो।
जुलाई १४ मा गरिएको पोस्टमार्टमपछि उनको हत्या भएको पुष्टि भएको थियो। त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले जुलाई २३ मा सार्वजनिक गरेको विवरणअनुसार दमनप्रीतको मृत्यु घाँटी थिचेर गरिएको हत्या भएको खुलेको हो।
प्रहरीले रितेश कुमारलाई पक्राउ गरी दोस्रो दर्जाको हत्या आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार यो घटना ‘इन्टिमेट पार्टनर होमिसाइड’ अर्थात् प्रेम वा वैवाहिक सम्बन्धमा रहेका वा पहिले सम्बन्धमा रहेका व्यक्तिबीच हुने हत्या अन्तर्गत पर्दछ। यस घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नरहेको र थप शंकास्पद व्यक्ति खोजी नगरिएको प्रहरीले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दमनप्रीत र रितेश सिल्भरबेरी रोडस्थित एउटा बेसमेन्टमा सँगै बस्दै आएका थिए। प्रहरीले हत्याको स्पष्ट कारण वा पृष्ठभूमिबारे थप विवरण सार्वजनिक गरेको छैन।
साउन ९, २०८३ शनिबार १४:१३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।