झापामा सेनाका प्युठद्वारा १८ वर्षीया किशोरी बलात्कृत, घटना मिलाउन दिदीले गरेकी थिइन् ५ लाखको प्रस्ताव
झापा : प्रेम र विवाहको प्रलोभन देखाएर १८ वर्षीया किशोरीलाई होटलको कोठामा पुर्याई बलात्कार गरेको अभियोगमा नेपाली सेनामा कार्यरत एक प्युठ र घटना ढाकछोप गर्न खोज्ने उनकी दिदीविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नं. २ थेचम्बु घर भई हाल कालिकोटस्थित श्री देवीबक्स गुल्ममा प्युठ पदमा कार्यरत २६ वर्षीय हिमाल बिष्ट र उनकी दिदी २७ वर्षीया कल्पना बिष्ट (पोखरेल) विरुद्ध सरकारी वकिल कार्यालय झापाले मुद्दा दायर गरेको हो।
प्युठ बिष्ट पक्राउ परिसकेका छन् भने उनकी दिदी कल्पना हाल फरार छिन्।
कसरी घट्यो घटना?
अभियोग पत्र अनुसार, बिर्तामोडस्थित एक कलेजमा ब्यालर पहिलो वर्षमा अध्ययनरत ती किशोरीसँग नेपाली सेनामा कार्यरत हिमाल बिष्टको करिब ८ महिनाअघि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत चिनजान भयो। चिनजान लगत्तै बिष्टले माया गर्ने र विवाह गर्ने भन्दै प्रेम प्रस्ताव राखे।
तालिमको सिलसिलामा काठमाडौंबाट बिदामा निस्किएका बिष्टले गत २०८३ वैशाख १३ गते साँझ झापाको बिर्तामोड पुगेर किशोरीलाई भेट्न बारम्बार म्यासेज र कल गरे। सुरुमा डर लागेर भेट्न अस्वीकार गरेकी किशोरीलाई ‘केही गर्दिनँ’ भन्दै आश्वस्त पारेपछि बिष्ट आफैँ मोटरसाइकल लिएर किशोरीको डेरा नजिक पुगे।
त्यसपछि बिष्टले किशोरीलाई बिर्तामोड-५ स्थित जिगल होटलको कोठा नं. २१० मा पुर्याए। होटलको इन्ट्री रजिस्टरमा नाम दर्ता गरी आफ्नो राष्ट्रिय परिचयपत्रको फोटो सञ्चालकको ह्वाट्सएपमा पठाएर कोठा बुक गरिएको थियो।
होटलमा खाजा खाएपछि बिष्टले जबर्जस्ती गर्न खोज्दा किशोरीले प्रतिकार गरेकी थिइन्। सोही क्रममा वेटरले खाना लिएर ढोका ढकढक्याएपछि बिष्ट पछि हटेका थिए।
तर, सोही रात अन्दाजी ११ बजे किशोरी सुतिरहेको अवस्थामा बिष्टले जबरजस्ती कपडा खोली पीडितको आग्रहलाई वेवास्ता गर्दै बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ।
टिकटकमा पोष्ट, धम्की र आर्थिक बार्गेनिङ
घटनाको भोलिपल्ट बिहान बिष्टले किशोरीलाई उनको डेरामा छाडिदिएका थिए।
घटनापछि गम्भीर मानसिक तनावमा परेकी किशोरीले आफूमाथि भएको अन्यायबारे बिष्टको टिकटक आईडी ट्याग गरी भिडियो पोष्ट गरेकी थिइन्। तर, बिष्टले दबाब दिएर उक्त पोष्ट डिलीट गराए।
त्यसपछि बिष्टकी दिदी कल्पना बिष्ट पोखरेलले किशोरीलाई फोन गरी ‘प्रहरीमा उजुरी नगर, उमेर नपुगुञ्जेल पढाइ खर्च दिन्छौँ र पछि बिवाह गरिदिन्छौँ’ भन्दै प्रलोभन दिएकी थिइन्।
पछि बिष्ट परिवार सम्पर्कविहीन भएपछि किशोरीले उजुरी गर्ने चेतावनी दिँदा कल्पनाले ३ लाखदेखि ५ लाख रुपियाँसम्म लिएर चुप लाग्न र मिलापत्र गर्न दबाब दिएकी थिइन्।
पैसाको प्रलोभन अस्वीकार गर्दै किशोरीले न्यायको अडान लिएपछि अभियुक्त पक्षले उनलाई सबैतिर ब्लक गरेर सम्पर्कविहीन बनेका थिए।
आत्महत्याको प्रयास र भारतीय सीमाबाट उद्धार
लगातारको मानसिक तनाव र घरपरिवारलाई अनुहार देखाउन नसक्ने स्थिति भएपछि पीडित किशोरी गत २०८२ जेठ ३० गते कसैलाई नभनी मर्नका लागि काँकरभिट्टा नाका हुँदै भारततर्फ लागेकी थिइन्।
भारतको पानीट्याङ्की क्षेत्रमा टोलाएर बसिरहेको अवस्थामा स्थानीय भारतीय नागरिकले शङ्का लागी सोधपुछ गर्दा उनले नेपालबाट आएको बताएकी थिइन्।
त्यसपछि उनीहरूले सीमामा रहेको मानव बेचबिखन विरुद्ध काम गर्ने ‘नव नेपाल अभियान’ नामकी संस्थालाई खबर गरी किशोरीलाई जिम्मा लगाएका थिए।
संस्थाले काउन्सिलिङ गर्दा किशोरीले आफूमाथि भएको करणी र मानसिक पीडाको सम्पूर्ण विवरण खोलेकी थिइन्। संस्थाले जेठ ३१ गते किशोरीका मामालाई खबर गरी जिम्मा लगाएको थियो।
त्यसपछि परिवारको सम्पर्कमा आएकी किशोरीले आमा र मामाको साथमा इलाका प्रहरी कार्यालय अनारमनी पुगेर जाहेरी दरखास्त दिएकी हुन्।
कसको के बयान?
बयानका क्रममा प्रतिवादी हिमाल बिष्टले किशोरीसँग प्रेम सम्बन्ध रहेको र सोही रात होटलमा सँगै बसेको स्वीकार गरेका छन्।
तर, किशोरीले विवाहअघि शारीरिक सम्बन्ध नराख्ने भनेकाले आफूले जबरजस्ती करणी नगरेको भन्दै कसूरमा इन्कार रहेका छन्।
होटल सञ्चालक नारायण पौडेलले वैशाख १३ गते दुवै जना आफ्नो होटलको कोठा नं. २१० मा बसेको र बिष्टले आफ्नो राष्ट्रिय परिचयपत्र देखाएर रजिस्टरमा नाम लेखेको पुष्टि गरेका छन्।
त्यसैगरी उद्धारकर्ता डिल्लिराम थापा मगरले भारतको पानीट्याङ्कीबाट उद्धार गरी ल्याउँदा किशोरीले बिष्टले धोकेबाजी र बलात्कार गरेकाले मर्न हिँडेको बताएको र आफूहरूले प्रहरीमा जान सल्लाह दिएको बयान दिएका छन्।
मागदाबी र कानुनी व्यवस्था
प्रहरी अनुसन्धान, कल डिटेल्स रेकर्ड, घटनास्थल मुचुल्का, मेडिकल रिपोर्ट र साक्षीहरूको बयानका आधारमा प्रतिवादी हिमाल बिष्टले अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको पुष्टि भएको सरकारी वकिलको निष्कर्ष छ।
हिमाल बिष्टविरुद्ध बलात्कार कसूरमा कडा सजायको मागदाबी गरिएको छ। घटनाको दिन पीडितको उमेर १८ वर्ष ७ दिन रहेको अभियोगपत्रमा उल्लेख छ।
कल्पना बिष्ट पोखरेलविरुद्ध अपराध ढाकछोप गर्न र अभियुक्तलाई बचाउन पीडितलाई पैसाको प्रभाव र धम्की दिएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २२७ (क) को उपदफा (१) बमोजिम कसूरदारलाई बचाउन खोजेको अभियोगमा सजाय माग गरिएको छ।
साउन ९, २०८३ शनिबार १३:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।