मुगुको पुलु बजारमा पहिरो जाँदा घर पुरियो : ३ वर्षीय बालकको मृत्यु, आमाबाबु घाइते

मुगुको पुलु बजारमा पहिरो जाँदा घर पुरियो : ३ वर्षीय बालकको मृत्यु, आमाबाबु घाइते

मुगु : मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। घटनामा अन्य ८ वटा घर उच्च जोखिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार बिहान करिब ४ बजेतिर स्थानीय पेमा लामाको घरमा भाडामा बसेर होटल व्यवसाय गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ (तिर्प) का ३२ वर्षीय जगनाथ बडुवालको परिवार सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।

पहिरोमा च्यापिएका तीन वर्षीय बालक रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको ५ जनाको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरी तुरुन्तै पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। उद्धारको प्रारम्भिक चरणमा अवस्था मध्यम भनिए तापनि बिहान करिब ५:४५ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

घाइते भएका बुबा जगनाथ र आमा २७ वर्षीया सृजना बडुवाललाई सामान्य चोट लागेको छ। उनीहरू आफैं उपचारका लागि स्वास्थ्य चौकी पुगेका थिए र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। साथै घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

अधिकांशलाई पुलु बजारस्थित आफन्तको घरमा राखिएको छ भने सातआठ जनालाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा आश्रय दिइएको छ।

घटनास्थल प्रहरी चौकी डोल्फु पुलुबाट करिब ३०० मिटर पश्चिममा पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

साउन ९, २०८३ शनिबार १३:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।