आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर चतुर्मासा व्रत सुरु
काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशी आज देशभर भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको बिरुवा रोपेर मनाइँदैछ।
ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवालाई आज घरघरको मोठमा सार्ने वैदिक परम्परा छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ।
आजको दिनदेखि चार महिनासम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्ने यो चार महिनाको अवधिलाई ‘चतुर्मासा’ भनिन्छ।
वर्षभरिमा पर्ने २४ वटै एकादशीमा व्रत बस्न नसक्नेहरूले चतुर्मासाका चार महिनामा पर्ने आठवटा एकादशीमा व्रत बस्ने गर्छन्।
कामकाजको व्यस्तताले त्यो पनि नसक्नेहरूले भने मुख्य गरी हरिशयनी र हरिबोधिनीका दिन फलाहार गरी व्रत बस्ने नियम छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो वा फलफूल मात्र खाने चलन छ।
यस अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका विष्णु मन्दिरहरूमा दर्शनार्थीको विशेष भीड लागेको छ।
तुलसी धार्मिक रूपले मात्र नभई वैज्ञानिक र स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ। प्रशस्त अक्सिजन फ्याँक्ने यो बिरुवालाई विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोग गरिन्छ।
तुलसीको मोठ भएको ठाउँमा हावा शुद्ध हुने र विषालु कीटाणुहरू नआउने वैज्ञानिक तथ्यसमेत पुष्टि भइसकेको छ। साथै, वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्दा सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता छ।
आजदेखि चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गरिदिने वैदिक परम्परा छ। तुलसी र दामोदरको विवाहपछि अग्निस्थापना गरी हवनसहित चतुर्मासा व्रतको समापन गरिन्छ।
साउन ९, २०८३ शनिबार ०७:३२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।