आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपास रहेको छ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली (बादल लागेको अवस्था) छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हिमाली क्षेत्रका केही स्थानमा हिमपातसमेत हुन सक्नेछ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसबाट ती क्षेत्रको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।

साउन ९, २०८३ शनिबार ०७:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।