एक वर्षमा काठमाडौंमा ११ हजार बढी मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ्ग कसुर

एक वर्षमा काठमाडौंमा ११ हजार बढी मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ्ग कसुर

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला प्रहरी परिसर काठमाडौंमा कुल ११ हजार ७८ वटा आपराधिक मुद्दा दर्ता भएका छन्।

प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार उक्त आर्थिक वर्षमा दर्ता भएका विभिन्न आपराधिक घटनामध्ये बैंकिङ कसुरको सङ्ख्या सबैभन्दा बढी देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार सबैभन्दा धेरै आपराधिक मुद्दा जिल्ला प्रहरी परिसरको कार्यालयमै दर्ता भएका छन्, जसको सङ्ख्या तीन हजार ११८ रहेको छ।

त्यसैगरी, महाराजगन्ज प्रहरी वृत्तमा एक हजार ३४९, बौद्ध वृत्तमा एक हजार १००, बानेश्वरमा ७८५, बालाजुमा ६६१, गौशालामा ६९३, कालीमाटीमा ६५१, लैनचौरमा ४३१, थानकोटमा ४३५, स्वयम्भूमा ४१७, जनसेवा प्रहरी वृत्तमा ४१५, कीर्तिपुरमा २६४, सिंहदरबार २५०, मालिगाउँमा २४५, दरबारमार्गमा १४७ आपराधिक क्रियाकलापको घटना दर्ता भएको भट्टराईले जानकारी दिए।

उनका अनुसार आपराधिक क्रियाकलापमा संलग्नहरू मध्ये आठ हजार ५८१ जना पक्राउ परेका छन्। जसमध्ये सवारी ज्यान मुद्दामा ९९ जना प्रतिवादी समाएको भट्टराईले जानकारी दिए। त्यसैगरी, ज्यान मार्ने उद्योगमा १२२, जबरजस्ती करणीमा २६९, आत्महत्यामा ३४९, आपराधिक उपद्रव १७५,ठगीमा ६३८, लागू औषधमा ६७०, चोरीमा एक हजार ८९ जना अभद्र व्यवहारमा एक हजार ७०२ र बैंकिङ्ग कसुरमा चार हजार ४७९ जनालाई पक्राउ गरेको परिसरले जनाएको छ।

यसैबीच काठमाडौं उपत्यकामा लागू औषध कारोबारीसँगै लागू औषध पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा प्रहरीले नुर्फिन ८४ सय ८५, पुर्माथान ८२१, व्यूरोफिन ३१ सय ७७  स्पामो ४५२ र नाईट्रोजेपाम ११ हजार ४७२ परिणाममा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बरामद गरेको भट्टराईले जानकारी दिए। 

उनले भने, "समाजको युवाहरूको भविष्यमा अन्धकार बनाउने यस्ता लागू औषध नियन्त्रणमा जिल्ला प्रहरी परिसर मातहतका कार्यालयले उल्लेख्य रूपमा नियन्त्रणमा लिएको हो।”

साउन ८, २०८३ शुक्रबार १७:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।