बालबालिकाको पोषण भत्ता हिनामिना गर्न आफैँले हाने औँठाछाप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बालबालिकाको पोषण भत्ता हिनामिना गर्न आफैँले हाने औँठाछाप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : महोत्तरीको साबिक भरतपुर गाउँ विकास समिति (गाविस) मा विनियोजित बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आर्थिक वर्ष २०६८/०६९ मा बाल संरक्षण अनुदान (पोषण भत्ता) का लागि निकासा भएको तीन लाख सात हजार नक्कली भरपाई तयार पारेर हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, कार्यालय सहायक उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति महोत्तरीका सहायक लेखापाल सुरुज साहको संलग्नतामा उक्त रकम हिनामिना भएको थियो। 

उनीहरूले बालबालिकालाई भत्ता वितरण नै नगरी नक्कली भरपाई तयार पारेको अनुसन्धानबाट खुलेको छ। प्रयोगशाला परीक्षण प्रतिवेदनका अनुसार लाभग्राहीको सहीछाप हुनुपर्ने महलमा उनीहरू आफैँले र अन्य व्यक्तिहरूलाई औँठाछाप लगाउन लगाई नक्कली कागजात खडा गरिएको भेटिएको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय सहायक महतो अहिले गौशाला नगरपालिका वडा नम्बर ४ को वडा सचिव हुन् भने तत्कालीन जिविस महोत्तरीका सहायक लेखापाल साह अहिले भंगाहा नगरपालिकाका अधिकृत (छैटौं)को रूपमा कार्यरत छन्। तीनै जनाबाट हिनामिना भएको तीन लाख सात हजार २०० रुपैयाँ बिगो असुलउपर गर्न माग दाबी गरिएको छ। 

साउन ८, २०८३ शुक्रबार १७:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।