‘वाम आन्दोलनमा त्रुटि भयो, सामान्य समीक्षा र आत्मालोचनाले मात्रै अब निकास निस्कँदैन’

‘वाम आन्दोलनमा त्रुटि भयो, सामान्य समीक्षा र आत्मालोचनाले मात्रै अब निकास निस्कँदैन’

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनले विगतमा गरेका त्रुटिकै कारण वर्तमानको चुनौतीपूर्ण परिस्थिति सिर्जना भएको स्वीकार्दै सामान्य समीक्षा र आत्मालोचनाले मात्रै अब निकास ननिस्कने बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक विचार गोष्ठीमा उनले विगतमा जनयुद्ध र जनआन्दोलनमार्फत तागत प्रदर्शन गरेका वामपन्थी दलहरू भदौ २३ र २४ गतेका घटनाक्रमसम्म आइपुग्दा किन यति शक्तिहीन भए भन्ने विषयमा वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए।

उनले भने, "थुप्रै कुरा भन्न सकिन्छ। हामीले विगतमा थुप्रै कमीकमजोरीहरूको समीक्षा र आत्मालोचना पनि गरेका छौं। तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मालोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं।"

भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्तिकारी परिघटना भन्दै उनले त्यसमा वैदेशिक दबाब र हस्तक्षेप प्रस्ट देखिएको दाबी गरे। नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै प्रचण्डले त्यसको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए।

उनले भने, "२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जसको वैदेशिक दबाब र हस्तक्षेप पनि देख्यौं। नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो। सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यस्तो निरीहता हामी कसैले इतिहासमा पढ्न पनि परेको थिएन।"

आफ्नै आँखाअगाडि देशका धरोहर र राजनीतिक दलका पार्टी कार्यालयहरूमा एकैदिनमा भएको आगजनी र विध्वंसले गम्भीर प्रश्न उब्जाएको उनले बताए।

साउन ८, २०८३ शुक्रबार १६:५३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।