सिफारिसका बनाउन घुस माग्ने लेखा अधिकृत भट्टराई वडा कार्यालयबाटै पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिस गरिदिए बापत सेवाग्राहीबाट घुस लिएको आरोपमा शुक्रबार उनलाई वडा कार्यालयबाटै पक्राउ गरेको हो।
सिफारिस बनाउन सेवाग्राहीलाई दुःख र हैरानी दिँदै घुस मागेको भन्ने उजुरी परेपछि टङ्गालस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित फेला पारेको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा कार्यालयबाटै शुक्रबारै पक्राउ परेका भट्टराईमाथि अहिले थप अनुसन्धान भइरहेको छ।
साउन ८, २०८३ शुक्रबार १६:२५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।