सुर्खेतमा ग्यासको अभाव नभएको निगमको दाबी, सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’को व्यवस्था

सुर्खेतमा ग्यासको अभाव नभएको निगमको दाबी, सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’को व्यवस्था
फाइल तस्बिर

कर्णाली : खाना पकाउने एलपीजी ग्यासको अभाव सुर्खेत उपत्यकामा सिलिन्डर राखेर लाइन बस्न बाध्य भइरहेको बेला नेपाल आयल निगम सुर्खेतले भने वीरेन्द्रनगरमा ग्यासको अभाव नभएको दाबी गरेको छ।

पछिल्लो समय घण्टौंसम्म पालो कुर्दासमेत ग्यास पाउने निश्चितता नभएको गुनासो उपभोक्ताले गर्ने गरेका थिए। सुर्खेतका विभिन्न डिपोअगाडि खाली सिलिन्डरको लामो लाइन देखिएको थियो। 

तर, निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको छ। पछिल्लो समय अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढेकाले बजारमा वितरणमा केही प्रभाव देखिएको नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले जानकारी दिए। 

उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’को व्यवस्था लागू गरी अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका दुई हजार ९२२ वटा एलपी ग्यास १४ दशमलव २ केजीको प्रति सिलिन्डर दुई हजार ६० मा बिक्री-वितरण गरिने प्रमुख घिमिरेले बताए। 

त्यस्तै, नेपाल ग्यासका ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने निगमले जनाएको छ।

नेपाल आयल निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल गरेको, मौज्दात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।

साउन ८, २०८३ शुक्रबार १४:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।