श्रीमतीसँग डिभोर्स भएको भन्दै बिहेको प्रलोभन देखाएर सम्बन्ध, धोका दिएको थाहा पाएपछि बलात्कार मुद्दा दर्ता

श्रीमतीसँग डिभोर्स भएको भन्दै बिहेको प्रलोभन देखाएर सम्बन्ध, धोका दिएको थाहा पाएपछि बलात्कार मुद्दा दर्ता

काठमाडौं : टिकटक भिडियोमार्फत चिनजान गरी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको भनेर बलात्कार गरेको अभियोगमा इलामका ५० वर्षीय यज्ञप्रसाद आचार्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आरोपी आचार्यविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को जबरजस्ती करणीसम्बन्धी कसूरमा ७ देखि १० वर्षसम्मको कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई उचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै अभियोग पत्र दायर गरेको हो।

अभियोग पत्रअनुसार प्रतिवादी ५० वर्षीय यज्ञप्रसाद आचार्य इलामको सूर्योदय नगरपालिका-१३ का स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।

यसरी भयो घटना
पीडित महिलाका अनुसार करिब ७ वर्ष अगाडि टिकटक भिडियोमार्फत आचार्यसँग उनको चिनजान भएको थियो।

कुराकानीका क्रममा आचार्यले आफ्नी श्रीमतीसँग विगत २२ वर्षदेखि छुट्टै भिन्न भई बसेको र कागजातसमेत रहेको भन्दै पीडितलाई विश्वास दिलाएका थिए। पीडित महिलाले पनि आफ्ना श्रीमान्सँग विगत २०/२१ वर्षदेखि छुट्टै बसेको जानकारी गराएपछि आचार्यले विवाहको प्रस्ताव राखेका थिए।

विवाहको प्रलोभनमा परी मन्जुर भएकी पीडितलाई भेट्न आचार्य २०८२ साल मंसिर महिनामा इटहरीबाट काठमाडौं आएका थिए। काठमाडौं महानगरपालिका वडा नं. २८ पुतलीसडकमा डेरा गरी बस्ने पीडितको कोठामा आचार्य पटक-पटक आउने र बस्ने गर्दथे। सोही क्रममा विवाह गर्ने विश्वास दिलाई उनीहरूबीच शारीरिक सम्बन्ध रहँदै आएको थियो।

तर, पछि आचार्यको घरमा दोस्रो श्रीमतीसमेत रहेको र सम्बन्धविच्छेद नभएको कुरा पीडितले थाहा पाइन्। ठगिएको महसुस भएपछि पीडितले सम्बन्ध अगाडि नबढाउने र विवाह नगर्ने बताएकी थिइन्। त्यसपछि पनि आचार्यले ‘म विवाह गर्छु’ भन्दै पीडितको इच्छाविपरीत जबरजस्ती करणी गर्दै आएका थिए।

अन्तिम पटक २०८२ साल चैत २० गते राति करिब १० बजे पुतलीसडकस्थित डेराकोठामा आचार्यले पीडितले बलात्कार गरी फरार भएका थिए। त्यसपछि पीडितले काठमाडौं प्रहरी वृत्त मालीगाउँमा किटानी जाहेरी दिएकी थिइन्।

अभियुक्तको बयान- सहमतिमै सम्बन्ध भएको हो, ममाथि दबाब दिइयो’
प्रहरी र अदालतसमक्ष बयान दिँदै अभियुक्त यज्ञप्रसाद आचार्यले बलात्कार आरोपको अस्वीकार गरेका छन्। उनले सम्बन्ध आपसी सहमतिमै भएको दाबी गरेका छन्।

आचार्यको बयानअनुसार, उनीहरूबीच १ वर्षअघि टिकटकमा चिनजान भएको हो। ललितपुरको लेलेस्थित जग्गा बिक्री गर्ने सिलसिलामा मंसिर २०८२ मा काठमाडौं आउँदा पीडितकै आग्रहमा उनी उनको कोठामा बसेका थिए। आफूले २०/२५ वर्षअगाडि नै भासक्टोमी गरिसकेको र शारीरिक सम्बन्धका क्रममा कुनै अस्थायी साधन प्रयोग नगरेको उनले बताएका छन्।

पीडितले विवाह गर्न दबाब दिएपछि आफूले घरमा श्रीमती रहेकाले विवाह गर्न नसक्ने बताएको आचार्यको दाबी छ। त्यसपछि पीडितले पुनः शल्यक्रिया (पुनः अप्रेसन) गरेर भए पनि बच्चा जन्माउनुपर्ने र काठमाडौंमै सँगै बस्नुपर्ने अडान लिएको उनले बताएका छन्।

सोही मानसिक तनावका कारण आफूले आत्महत्या गर्ने निर्णय गरी २०८३ जेठ १३ गते मोरङको सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारीस्थित होटलमा मुसा मार्ने विष सेवन गरेको आचार्यले बयानमा उल्लेख गरेका छन्।

विष सेवनपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याएर उपचार गराएका थिए। उपचारपछि निको भई झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित होटलमा बसिरहेको अवस्थामा २०८३ असार १८ गते इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले उनलाई पक्राउ गरेको थियो।

घटनाको अनुसन्धानका क्रममा बुझिएका धोबीधाराका स्थानीय सुबास जैसी र लक्ष्मण बोहराले पीडित महिलालाई आचार्यले श्रीमतीसँग भिन्न भएको भनी ढाँटेर विवाहको प्रलोभनमा पारेको र २०८२ चैत २० गते राति जबरजस्ती करणी गरेको कुरा पीडितबाटै थाहा पाएको भनी वस्तुस्थितिको कागज गरिदिएका छन्।

सरकारी वकिलको मागदाबी र कानुनी प्रावधान
अभियोग पत्रमा अभियुक्त आचार्यले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको पुष्टि भएको दाबी गरिएको छ।

सरकारी वकिलले अदालतसमक्ष आचार्यलाई ७ वर्षदेखि १० वर्षसम्म कैद गराउन, तीन लाख रुपैयाँ जरिवाना गरी उक्त रकम ‘पीडित राहत कोष’मा दाखिला गराउन, अभियुक्तबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिन माग गरेको छ।

साउन ८, २०८३ शुक्रबार १३:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।