‘अमेरिका र युरोपको सडक हेरेर नेपालको नीति नबनाउनुस्’

‘अमेरिका र युरोपको सडक हेरेर नेपालको नीति नबनाउनुस्’

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले आवश्यक पूर्वाधारको विकास नगरी हचुवाका भरमा नयाँ नियम लागू नगर्न सरकारसँग आग्रह गरेका छन्।

उनले नेपालको सडकभन्दा पनि सिंहदरबारबाट बन्ने नीति नै भद्रगोल रहेको टिप्पणी गरे।

शुक्रबार नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले विदेशी मुलुकको सडक व्यवस्थापनको नक्कल गरेर नेपालमा नीति बनाउन नहुने तर्क गर्दै उनले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाए।

‘अमेरिका र युरोपका सडक हेरेर नेपालमा नियम बनाउनु हुँदैन। सिंहदरबारमा बसेर व्यावहारिक नीति नबनाएकै कारण आज यातायात क्षेत्र भद्रगोल छ। यसले गर्दा न त लगानीकर्ता खुसी छन्, न त मजदुर नै’, सिटौलाले भने।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले कडा नियम लागू गर्नुअघि पूर्वाधार बनाउन सरकारको ध्यानाकर्षण गराए।

‘उपत्यकामा मात्रै २३ लाख मोटरसाइकल र कुल २६ लाखभन्दा बढी सवारी साधन छन्। यी गाडी गुडाउने पूर्वाधार खै?’ उनले प्रश्न गरे, ‘त्यसैले पहिला पूर्वाधारको व्यवस्था गर्नुहोस्, अनि मात्र नियम लागू गर्नुहोस्।’

उनले राजधानीको सडक व्यवस्थापनमा ट्राफिक प्रहरी र ट्राफिक एफएमको भूमिका अतुलनीय रहेको बताए।

‘सडकमा ट्राफिक प्रहरी नहुने हो भने शहरै अस्तव्यस्त हुन्छ। ट्राफिक सहजीकरण र जनचेतनामा यो एफएमको योगदान ठूलो छ,’ उनले भने, ‘तर आज विज्ञापन माग्न देउसी खेलेझैँ घर–घर धाउनुपर्ने अवस्था हुनु दुर्भाग्य हो। सरकारले यसलाई स्रोत–साधनयुक्त बनाउन विशेष आर्थिक व्यवस्थापन गर्नुपर्छ।’
 

साउन ८, २०८३ शुक्रबार ११:२८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।