बाढीले कटान गर्दा दोलखाको लोगटा बस्तीका १५ घर उच्च जोखिममा
दोलखा : अविरल वर्षासँगै खारे खोलामा आएको बाढीले जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ।
खोलाले बस्तीतर्फ कटान तीव्र पारेपछि त्यहाँका करिब १० घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ।
स्थानीय रवीन्द्र सुरेलका अनुसार करिब १५ घरधुरी रहेको उक्त बस्तीका अधिकांश घर कटानको जोखिममा छन्। बाढीले जमिन तान्न थालेपछि पहलबहादुर तामाङ, धनबीर तामाङ र रत्नबहादुर तामाङको परिवारले घर छाडिसकेका छन्।
त्यसैगरी, बुद्धिमान, आरतबहादुर र दिनेश तामाङको घर पनि अति जोखिममा रहेकाले उनीहरूलाई तत्काल अन्यत्र सार्नुपर्ने अवस्था छ।
नदी किनारभन्दा केही माथि रहेका भक्तबहादुर, धनबहादुर र वीरबहादुर तामाङका घरसमेत जोखिममा छन्। पानी पर्नासाथ उनीहरू ज्यान जोगाउन घर छाडेर अन्यत्रै गएर सुत्ने गरेका छन्।
बस्ती नै जोखिममा परेपछि गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलगायतको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
वडा नम्बर ८ का अध्यक्ष दावारेन्जी शेर्पाका अनुसार, घर छाड्न बाध्य केही परिवारलाई सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा अस्थायी टहरा निर्माण गरी राखिएको छ भने केही परिवारले आफन्तकोमा आश्रय लिएका छन्।
विस्थापित तथा जोखिममा रहेका परिवारका लागि गाउँपालिका र वडा कार्यालयले थप राहत र अस्थायी आवासको व्यवस्थापन गरिरहेको वडाध्यक्ष शेर्पाले बताए।
आवश्यक प्रक्रिया पूरा भएपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थायी रूपमै स्थानान्तरण गरिने गाउँपालिकाको तयारी छ।
साउन ८, २०८३ शुक्रबार ०९:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।