वर्षा र पहिरो : देशैभर नौ मुख्य सडक अवरुद्ध, दुई राजमार्गमा रात्रिकालीन रोक

वर्षा र पहिरो : देशैभर नौ मुख्य सडक अवरुद्ध, दुई राजमार्गमा रात्रिकालीन रोक

काठमाडौं : अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौवटा मुख्य सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार पहिरो र हिलोका कारण इलामको राजदुवालीस्थित मेची राजमार्ग र सिन्धुपाल्चोकको जिरोकिलो तथा कोदारी क्षेत्रमा अरनिको राजमार्ग ठप्प छन्।

त्यसैगरी, बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको घोराही-थवाङ सडक, मुगुको नाग्म-गमगडी सडक र रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पहिरोले अवरुद्ध छन्।

यस्तै, अछामको पानीखोलास्थित मध्यपहाडी लोकमार्ग र लमजुङको म्याग्दे भीरस्थित बेँसीसहर-चामे-मनाङ सडकखण्डमा पनि पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।

दुई सडकमा रात्रिकालीन यात्रामा रोक
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै दुईवटा राजमार्गमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामभरका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भएको छ।

यद्यपि, त्यहाँ खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ।

साउन ८, २०८३ शुक्रबार ०७:२१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।