भारतको जेनजी आन्दोलनको आइकन बनेकी युवती को हुन्?

भारतको जेनजी आन्दोलनको आइकन बनेकी युवती को हुन्?

काठमाडौं : भारतको दिल्लीमा शिक्षामन्त्रीको राजीनामा माग्दै भइरहेको विद्यार्थीहरूको प्रदर्शनमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर गइरहेको प्रहरी भ्यान एक्लै रोक्दै गरेको युवतीको भिडियो सामाजिक सञ्जालमा आगो जसरी फैलियो।

प्रदर्शनकारी बोकेको ठूलो भ्यान अगाडि बढ्न खोजिरहेको बेलामा उनीहरूको रिहाइका लागि ती युवती एक्लै गाडी अगाडि उभिएर प्रहरीसँग कुरा गरिरहेको देखिन्छ। भिडियोमा युवती र भ्यानको चालक प्रहरीबीच भएको कुराकानी भने सुनिएको छैन। 

शिवजी पार्क अगाडि प्रहरी भ्यान अगाडि बढाउन खोज्छन्, उनी निडर भएर गाडी अगाडि उभिइरहन्छिन्। केही समयपछि त्यहाँ अन्य प्रदर्शनकारी समेत भेला हुन्छन्।

इन्टरनेटमा सो भिडियो राखेसँगै भाइरल हुन्छ। आन्दोलनको समर्थमा रहेकाहरूले प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले गरेको दमनको प्रतिरोधसँग सो भिडियोलाई जोडेर साहसको प्रशंसा गर्छन्।

भिडियो भाइरल भएसँगै भारतीय सञ्चारकर्मीले ती युवती पत्ता लगाए। हिन्दुस्थान टाईम्सका अनुसार २७ वर्षीय ती युवती हुन् मोडल रिया अहिर।

बुधवार अपराह्न ४:३० बजेतिर रिया अहिर शिवाजी पार्कतिर हिँडिरहेकी थिइन्। त्यसै बेला उनको नजर प्रहरीको एउटा भ्यानमा पर्यो। उक्त भ्यान पक्राउ गरिएका प्रदर्शनकारीहरूले खचाखच भरिएको थियो। यो दृश्य देखेर उनी नराम्ररी विचलित भइन् र रोक्न तम्सिइन्।

 उनले भनिन्, “भ्यान अगाडिदेखि पछाडिसम्म पूरै भरिएको थियो। उभिनलाई पनि ठाउँ थिएन।”

प्रदर्शनकारीहरूलाई अनाहक हिरासतमा लिइँदैछ भन्ने लागेपछि उनी गाडीतिर दौडिइन् र गाडीको अगाडि उभिइन्।

 “मैले आफैँलाई रोक्नै सकिनँ,” उनले भनिन हिन्दुस्तान टाइम्ससँग भनिन् “उनीहरूको नाराबाजीले मलाई त्यता तानेको हो।”

त्यसपछि प्रहरीसँग उनको चर्काचर्की पर्यो।प्रहरी अधिकारीहरूले उनलाई प्रदर्शनकारीहरूलाई केही टाढा पुर्याएपछि रिहा गरिने आश्वासन दिए। तर अहिर यो कुरा मान्न तयार भइनन्।

उनले भनिन्, “जब मैले उनीहरूको सामना गरे, म भित्रभित्रै कामिरहेकी थिएँ। मैले जे गरिरहेको छु, त्यो सही थियो भन्ने थाहा थियो।"

रिया अहिर प्रहरी भ्यानको अगाडि तबसम्म उभिइन्, जबसम्म प्रहरी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई रिहा गरेनन्। प्रदर्शनकारीहरू भ्यानबाट बाहिर निस्केपछि धेरैजना उनीकहाँ आएर धन्यवाद दिए।

साउन ८, २०८३ शुक्रबार ००:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।