लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई पक्राउ गर्यो, दुई जना घाइते
जनकपुरधाम : सिरहाको लहानस्थित अस्पताल चोकमा बिहीबार प्रहरीले गोली चलाएर छ जनालाई पक्राउ गरेको छ।
मोटरसाइकलमा शङ्कास्पद अवस्थामा आएका उनीहरू चेकजाँचका क्रममा भाग्न खोज्दा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् भने अन्य चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा पाँच जना नेपाली र एक जना भारतीय रहेका छन्।
प्रहरीले चलाएको गोली लागेर सप्तरीको रूपनी-१ निवासी ४२ वर्षीय मो. नसिर र भारतको विहार राज्य जिल्ला मधुवनी थाना लदनियाँ निवासी २४ वर्षीय विद्यानन्द यादव घाइते भएका छन्। घाइते दुवैको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए।
त्यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका-२ निवासी २८ वर्षीय शम्भुप्रसाद यादव, सोही ठाउँका २४ वर्षीय वैधनाथप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ निवासी २८ वर्षीय मो जामाहिर आलम र सोही ठाउँका ३२ वर्षीय मो इमामुदिनलाई नियन्त्रणमा लिइएको पालले बताए।
पक्राउ परेकाहरूका साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोली खटेको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
साउन ७, २०८३ बिहीबार २२:४५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।