गगन नेतृत्वलाई वैधानिकता दिने आदेशविरुद्ध देउवा पक्षको पुनरावलोकन निवेदन

गगन नेतृत्वलाई वैधानिकता दिने आदेशविरुद्ध देउवा पक्षको पुनरावलोकन निवेदन

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्च अदालतको आदेशउपर पूर्व सभापति शेरबहादुर देउवा पक्षले बिहीबार पुनरावलोकन निवेदन दर्ता गरेको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला सुनाएको थियो। 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार देउवा पक्षले कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर बिहीबार पुनरावलोकन निवेदन दर्ता गरेको हो।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन सभापति देउवा र नेता पूर्णबहादुर खड्काले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतलाई विपक्षी बनाएका थिए।

तर, सर्वोच्च अदालतले आयोगकै निर्णयलाई सदर गर्दै थापा नेतृत्वको समितिलाई वैधानिकता दिएको थियो। सर्वोच्चको नियमानुसार अब तीन जना न्यायाधीशको इजलासले उक्त मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय दिनेछ। इजलासबाट पुनरावलोकनको अनुमति प्राप्त भएमा मात्र मुद्दाको पुनः सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। 

साउन ७, २०८३ बिहीबार २२:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।