बालश्रम गराउने बुटवलका दुई रेष्टुरेन्टमा छापा, तीन बालकको उद्धार

बालश्रम गराउने बुटवलका दुई रेष्टुरेन्टमा छापा, तीन बालकको उद्धार

बुटवल : बुटवलका दुई वटा रेष्टुरेन्टमा बालश्रममा लगाइएका तीन बालकलाई उद्धार गरिएको छ। श्रम तथा रोजगार कार्यालय बुटवलमा परेको उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरूलाई उद्धार गरी संरक्षणमा राखिएको हो।

श्रम तथा रोजगार कार्यालय बुटवलका शाखा अधिकृत कृषिराम पन्थीका अनुसार बुटवल उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ भैरहवासँगको संयुक्त टोलीले राज रेष्टुरेन्ट र सुशान्त रेष्टुरेन्टमा अनुगमन गर्दा तीन जना बालश्रमिक फेला परेका थिए।

उनले बालश्रम गराउनु कानुन विपरीत भएको उल्लेख गर्दै उद्धार गरिएका बालकको संरक्षणसँगै सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ भैरहवाकी प्रतिनिधि विष्णुमाया पौडेलले उद्धार गरिएका तीनै जना बालकलाई तत्काल बाल हेल्पलाइनको संरक्षणमा राखिएको जानकारी दिइन्। उनका अनुसार बालकहरूको मनोसामाजिक परामर्श गरिने, परिवारसँग सम्पर्क स्थापित गरिने तथा जिल्ला प्रशासन कार्यालय, श्रम तथा रोजगार कार्यालय र इलाका प्रहरी कार्यालयसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।

नेपालमा बालश्रम नियन्त्रणका लागि बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ लागू छ। उक्त ऐनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रमिकका रूपमा काममा लगाउन पूर्ण रूपमा निषेध गरेको छ भने १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन पनि रोक लगाएको छ।

ऐनअनुसार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रमिकका रूपमा काममा लगाएमा तीन महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। त्यस्तै, बालबालिकालाई जोखिमपूर्ण काममा लगाए वा इच्छा विपरीत श्रम गराएमा एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

साउन ७, २०८३ बिहीबार १९:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।